दमक । दमकस्थित मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका सञ्चालकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ३ दिवसीय कार्यक्रम बिहीबारबाट सुरु गरेको छ ।
प्रत्येक वर्ष संस्थाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमिति स्तरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएकोमा यस वर्ष पनि “सहकारीका सञ्चालकहरुको क्षमता अभिबृद्धि कार्यक्रम” सञ्चालन गरेको हो ।
सहकारी संस्थाका झापा, मोरङ र इलाममा सञ्चालित १२ वटा विभिन्न सेवा कार्यालयका ४३ वटा समिति उपसमितिका पदाधिकारीहरुलाई ३ वटा क्लस्टरमा विभाजन गरी कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको पहिलो क्लस्टर अन्तर्गत ७५ जना सहभागीहरु बीच सहकारीका सञ्चालकमा हुनुपर्ने ज्ञान, सीप र जिम्मेवारीको मापन तथा सहकारी सुशासनका बिषयमा प्रस्तुतिकरण गरिएको संस्थाका सहव्यवस्थापक तथा सूचना अधिकारी चन्द्रप्रसाद थापाले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष पदम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले हालसम्मको वित्तीय जानकारी प्रस्तुत गर्नेक्रममा संस्थाको वासलात ११ प्रतिशत, निक्षेप तथा बचत २३ प्रतिशत, सदस्यहरुमा गरेको कर्जा लगानी र शेयर पूँजीमा ६÷६ प्रतिशत बृद्धि भएको तथा वाह्य कर्जा ४६ प्रतिशतले घटाएको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । बगालेले यस्तो विषम परिस्थितिका बावजुद पनि संस्थाको सूचांकहरु निरन्तर बृद्धिले संस्थाप्रतिको विश्वसनीयता अझ बढेर गएको जिकिर गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिम्सिनाले गर्नुभएको थियो ।
कार्यक्रममा दमक नगरपालिकाका पूर्व मेयर तथा संस्थाका संस्थाका अध्यक्ष रोमनाथ ओली, दमक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार सदस्य टेकबहादुर थापा समेतको सहभागिता रहेको थियो ।