समाजमा गरिबी, पछौटेपन र अभाव हटेको थिएन । राजनीतिमा परिवर्तनसँगै जनतामा नयाँ जोस जाँगर र केही गरौं भन्ने भावना जागृत भएको थियो । सहकारी ऐन २०४८ मा संशोधन भएपछि सहकारी अभियान साँघुरो घेराबाट केही फराकिलो घेरा समाउन पुगेको थियो । विगतमा नाम मात्रका सहकारी संस्था २०४८ सालको सहकारी ऐन संशोधनबाट वास्तविक सहकारी जस्ता देखिन थालेका थिए । सानोतिनो कर्जाको लागि बैंकभन्दा सहकारी संस्था सरल बनेका थिए । मन मिल्ने, समान हैसियत भएका मानिस बीच आर्थिक कारोबारको उद्देश्य राखी सहकारी संस्था गठन हुने गर्छन् । सहकारीले छरिएर रहेको सानो पूँजीलाई एकीकृत गरी एउटाबाट बचत गरी अर्काको गर्जाे टार्ने काम गर्छ । यसै आवश्यकतालाई मध्येनजर गरी २९ जना मानिसबाट १,४५,००० (अक्षरेपी एक लाख पैतालिस हजार) शेयर पूँजी जम्मा गरी २०५४ साल भाद्र १२ गते मेची बहुउद्देश्यीय सहकारी संस्था गठन गरिएको हो । मलाई विश्वास छ भविष्यमा यो संस्था शेयर सदस्यको आशा र भरोसाको केन्द्र बन्ने छ । दिगो र भरपर्दो संस्थाको रुपमा विकसित हुनेछ ।