• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

मेची सहकारीको चुलाचुली सेवा कार्यालय उद्घाटन तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न

21 june

दमक/ झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चुलाचुली सेवा कार्यालयको उद्घाटन तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

इलामको चुलाचुली–४ मा संस्थाले केही समयअघि सेवा कार्यालय स्थापना गरिसकेको र कोरोनाका कारण उद्घाटन गर्न नसकेकाले शनिबार उक्त कार्यालयको उद्घाटन तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले रिबन काटेर कार्यालयको उद्घाटन गर्दै आगामी दिनमा संस्थाको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो भने संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

चुलाचुली सेवा कार्यालय सञ्चालन भएदेखि हालसम्म २१ लाख ६३ हजार शेयर पूँजी, ५५ लाख ४४ हजार निक्षेप संकलन, २ करोड ८३ लाख २६ हजार कर्जा लगानीसहित सेवा कार्यालयले ३ करोड १८ लाख ८९ हजारको वासलात तयार पारेको सेवा कार्यालय प्रमुख राजकुमार कार्कीले बताए ।

चुलाचुली गाउँपालिकाकी उपाध्यक्ष निर्मला दाहालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाको पूर्ण वित्तीय अवस्था, नीति र चुलाचुली सेवा कार्यालयको शेयर पूँजी, निक्षेप, कर्जा, वासलातबारे संस्थाका सहव्यवस्थापक चन्द्रप्रसाद थापाले जानकारी गराउनुभएका थियो ।

संस्थाका शिक्षा समिति सदस्य तथा पथरी सेवा कार्यालयका संयोजक रुद्रबहादुर तामाङ्गले पारिवारिक बजेट कसरी तयार गर्ने, बजेटलाई कसरी व्यवस्थापन गर्ने र खर्च कटौती तथा बचतलाई प्रोत्साहनलगायतका बिषयमा चर्चा गर्नुभएको थियो ।

चुलाचुली क्षेत्रका सदस्यहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहालको सञ्चालन तथा चुलाचुली सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक सञ्जयकुमार राईले संस्था स्थापनाको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम समापन गर्नुभएको थियो । संस्थाको चुलाचुली सेवा कार्यालयमा हालसम्म २ सय १६ जना शेयर सदस्य रहेको बताइएको छ ।